२८ आश्विन २०८१, सोमबार
बझाङका ८ स्थानीय तहले गरे सार्वजनिक सुनुवाइ कार्यक्रम
बझाङ / बझाङका ८ वटा स्थानीय तहले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेका छन् ।
आर्थिक वर्ष २०७९ /०८० मा सञ्चालन गरेका योजना कार्यक्रम बजेट खर्चको जानकारी दिन र नागरिकहरूको पालिकाको सेवा प्रवाहप्रतिको गुनासो जिज्ञासा बुझी सुशासन कायम गर्ने उदेश्यले अहिलेसम्म ८ वटा स्थानीय तहले मात्रै सार्वजनिक सुनुवाइको कार्यक्रम गरेका हुन् ।
सुशासन पारदर्शिता र जबाफदेहिताको प्रमुख औजार मानिएको सार्वजनिक सुनुवाइ गर्ने पालिकाहरूमा केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका , मष्टा गाउँपालिका, र जयपृथ्वी नगरपालिका रहेका छन् ।
यी सबै पालिकाले साउन पहिला साता अघिनै सार्वजनिक सुनुवाइको कार्यक्रम गरेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताहरूले पालिका वडा कार्यालय बाट सेवा लिँदा भोगेका समस्याहरू, योजना कार्यक्रमहरूको गाउँघरमा भएको अनियमितता कमीकमजोरीका विषयमा धेरै गुनासो राखेका थिए ।
जिल्लामा १२ वटा स्थानीय तह भएपनि हालसम्म ८ वटा पालिकाले मात्र सार्वजनिक सुनुवाइ गरेका छन् ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा एकातर्फ पालिका जबाफदेही वक्ता र अर्कोतर्फ जनताहरू बीच सेवा प्रवाहका विषयमा सवाल जवाफ हुने गर्दछ ।
वर्षभरिमा चार पटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी प्रावधान भएपनि तर पालिकाहरूले भने वर्षको एक पटक आर्थिक वर्ष सम्पन्न भएको अन्ततिर गर्ने गरेका छन् ।
अब सार्वजनिक सुनुवाई गर्न बाँकी रहेका पालिकाहरूमा तलकोट गाउँपालिका , साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका र बुगंल नगरपालिका रहेका छन् ।