१९ आश्विन २०८१, शनिबार
भारतबाट अतिक्रमित कालापनीमा बाख्रा चराउन गएका एक नेपाली किशोरको मृत्यु
काठमाडौं । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा एक नेपाली किशोरको मृत्यु भएको छ ।
दार्चुलाको नौगाड गाउँपालिका-३ दल्लेखका १९ वर्षिय विनोद ठगुन्नाको मृत्यु भएको हो ।
भारतीय व्यवसायीको बाख्रा चराउन अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा गएका ठगुन्नाको मंगलबार मृत्यु भएको हो ।
भेडाबाख्रा चराउन लेकाली फाँटमा गएका ठगुन्ना मंगलबार साँझसम्म बासस्थानमा नफर्किएपछि कालापानीमा रहेका एसएसबी र आइटिबीपीका सुरक्षाकर्मीहरु र अन्य भेडाबाख्रा चराउनेहरुले खोजी गरेका थिए । उनी मंगलबार राति २ बजे मृत भेटिएका थिए ।
उनको मृत्युबारे भारतीय सञ्चारमाध्यमले उत्तराखण्ड प्रहरीलाई उद्धृत गर्दै ढुंगा लागेर भएको जनाएका छन् । तर, मृतकको शरीरमा कुनै चोटपटक नभएको आफन्तजनले बताएका छन् ।
मृतकका बुबा अंगवीरसिंह ठगुन्ना र आफन्त घटनाको खबर पाएलगत्तै बुधबार बिहान घटनास्थलतर्फ गएका छन् ।
घटनास्थलको फोटो प्राप्त भएको र मृतकको शरीरमा कुनै प्रकारको चोटपटक नदेखिएको आफन्तले जानकारी दिएका छन् । भारतको गुञ्जीमा रेहको उत्तराखण्ड प्रहरीले ठगुन्नाको शव आफ्नो जिम्मामा छ ।
मृतक ठगुन्नाले एक वर्षदेखि एकजना भारतीय व्यवसायीको दुई सयभन्दा भेडाबाख्राहरु चराउने कार्य गर्दै आएका थिए ।
कालापानीभन्दा माथिल्लो क्षेत्रमा भेडाबाख्रा चराउन गएको अवस्थामा घटना भएको आफन्तजनले बताएका छन् । अक्सिजनको अभाव भएर लेक लागेर उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
उत्तराखण्ड प्रहरीले साउन १७ गते बुधबार घटनास्थलको मुचुल्का गरेको छ । आफन्तलाई घटनाबारे जानकारी गराएको छ ।
नेपाल प्रहरीले भने घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताएको छ । घटना भएको जानकारी सुन्नमा आए पनि विस्तृत विवरण प्राप्त नभएको दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताए ।
मृतक विनोदका बुबा अंगवीरले कालापानी क्षेत्रमा धेरै वर्षदेखि बाख्रा चराउने काम गर्दै आएका थिए ।
अंगवीर बिरामी भएपछि एक वर्षदेखि छोरा विनोदले बाख्रा चराउने काम गरिरहेका थिए ।