११ बैशाख २०८२, बिहीबार

चालकको अदक्षताका कारण सुदूरपश्चिमका कानुनमन्त्री सिंहको ज्यान गएको छानबिन समितिको निष्कर्ष
धनगढी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटना चालकको लापरबाहीका कारण भएको पाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठित छानबिन समितिले आज मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाएको प्रतिवेदनमा सवारी चालकको अदक्षताका कारण मन्त्री सवार गाडी दुर्घटना भएको उल्लेख छ ।
‘सवारी चालकमा दक्षता भएन । सवारी साधनबारे सवारी चालकलाई खासै ज्ञान नहुँदा दुर्घटना भयो,’ प्रतिवेदनमा भनिएको छ ।
असार ५ गते डडेल्धुरादेखि गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्यूँ गाउँपालिका–१ झारछडामा दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो ।
मन्त्रीको मृत्युपछि असार ७ बसेको १६१औँ बैठकले खरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको थियो । तर, ढिलो गरी आइतबार प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदन मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि सार्वजनिक गरिने बताइएको छ ।