१९ आश्विन २०८१, शनिबार
विद्यार्थीको पठनपाठन चौरमा हुन थालेपछि चन्दा संकलन गरेर भवन बनाइदै
बझाङमा विद्यार्थीको पठनपाठन चौरमा हुन थालेपछि चन्दा संकलन गरेर भवन निर्माण गरिँदै छ । जिल्लाको थलारा गाउँपालिका खोलीमा रहेको थलारा माध्यमिक विद्यालयमा अहिले चन्दा संकलन गरेर नयाँ भवन निर्माण कार्य भइरहेको छ । गत कार्तिक महिनामा गएको भुकम्पले विद्यालयको भवनमा क्षतिपुर्याएर विद्यार्थीको पठनपाठन चौरमा हुन थालेपछि चन्दा संकलनबाट नयाँ भवन निर्माण गरिन लागेको हो ।
अहिले चन्दा संकलनको रकमबाट निर्माण कार्य सुरु गरिएको विद्यालयको भवनको भुँइतला निर्माण कार्य सम्पन्न भएको छ, भने माथिल्लो तला निर्माणको कार्य जारी रहेको छ । उक्त भवन निर्माणमा अभिभावकहरूले करिब ८० दिनभन्दा बढी श्रमदान गरिसकेका छन् । भुँइतला निर्माणमा साढे ९ लाख रुपैयाँ लागत लागेको प्रधानाध्यापक शेरबहादुर चौहानले बताउनुभएको छ । उहाँले भने यसमा अहिलेसम्म स्थानीय सरकारको सहयोग छैन ,,`अब सहयोगको अपेक्षा गरेका छौ ।
भुकम्पले विद्यालयको भवन चर्किएर बस्न नमिल्ने भएपछि पठनपाठनमा समस्या देखिएको थियोे ।
विद्यालयमा देखिएको उक्त समस्या समाधानका लागि व्यवस्थापन समितिले चन्दासंकलन गरेर भवन निर्माण गर्ने निर्णय गर्यो ।
२०७९ साल चैत १३ गतेबसेको विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघ, र शिक्षक स्टाफहरूको संयुक्त बैठकले भवन निर्माणका लागि चन्दा संकलन अभियान अर्थात् भवन निर्माणका निम्ति आर्थिक सहयोगका लागि अपिल गरेको थियोे । सोही चन्दा संकलन अभियान अर्थात् आर्थिक सहयोगका लागि गरिएको अपिलमा हालसम्म ९४ जनाले आर्थिक सहयोग गर्नुभएको प्रधानाध्यापक चौहानले बताउनुभयो ।
विद्यालयलाई आर्थिक सहयोग गर्ने ९४ जना चन्दादाताबाट ९ लाख ६९ हजार रुपैयाँ चन्दा संकलन भएको छ ।
हालसम्म ३० हजारभन्दा बढी आर्थिक सहयोग गर्नेहरूमा ५ जना रहेका छन् ।
जसमा सबैभन्दा बढी चन्दा थलार गाउँपालिका ६ पिखेत निवासी हाल रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आउनु भएका नरेन्द्र रोकाया (बिष्ट) ले गर्नु भएको छ । उनलेे विद्यालयको भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नु भएको हो । त्यस्तै दोस्रो चन्दादाता थलारा बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष समेत रहेका थलारा गाउँपालिका-६ पिखेतका कृष्ण रोकाया बन्नु भएको छ । उनलेे विद्यालयलाई ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । त्यसपछि डाक्टर चक्रबहादुर चन्दले ५० हजार सहयोग गर्नु भएको छ । डाक्टर चन्द बैतडीका हुन् । हालसम्म थलारा गाउँपालिका-६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल कुमार बिष्टले ३५ हजार र प्रधानाध्यापक चौहानले ३० हजार रुपैयाँ चन्दा सहयोग गर्नु भएको छ ।
भुँइतलाका लागि चन्दा संकलनको रकमले पुगेपनि अब माथिल्लो तला निर्माणका लागि आर्थिक अभाव देखिएको छ । भुँइतलाले मात्रै कक्षा कोठा अभाव हुनेदेखिएपछि हामीले माथिल्लो तला पनि थप्ने भनेर काम थाल्यौ,, तर अहिले उक्त तला निर्माणमा आर्थिक समस्या भएको छ प्रधानाध्यापक चौहानले भने । माथिल्लो तला नथपेको भए,,कक्षा कोठा पुग्दैन थे , तला त थप्यौ आर्थिक अभाव भएको छ , कुनै निकाय , संघसंस्था , स्थानीय सरकार र अभिभावकले सहयोग गरे त हुन्थ्यो प्रधानाध्यापक चौहानको भनाइ।
विद्यालयको निर्माणाधीन भवनको माथिल्लो तला निर्माणका लागि चन्दा संकलन रकमले नभ्याउने भएपछि विद्यालयसँग भएको रकमले माथिल्लो तला थप्न लागेको छ ।
उक्त निर्माणाधीन भवन विद्यालयले २५ लाखमा निर्माण गरिसक्ने लक्ष्य लिएको छ । साथै विद्यालय परिवारले सहयोगका लागि अपिल समेत गरेको छ ।
बर्खायामा समेत खुल्ला चौरमा पठनपाठन
२०२६ सालमा स्थापना भएको थलारा गाउँपालिकाकै केन्द्र खोलीमा रहेको पुरानो विद्यालयमा कक्षाकोठाको अभावका हुँदा पठनपाठन खुल्ला चौरमा गर्नु परेको छ ।
गत कार्तिक महिनाका गएको भुकम्पले विद्यालयको भवनमा बस्न नमिल्ने गरि क्षति गरेपछि पठनपाठन खुल्ला चौरमा गर्नु परेको हो। भवनमा क्षति भएपछि कक्षाकोठा नहुँदा खेरी बाहिरी खुल्ला चौरमा पठनपाठन गर्नुपर्ने अवस्था आएको शिक्षकहरूले बताए ।
पौष,मागको कठ्याङ्ग्रीदो चिसोयामा पनि कक्षाकोठा नभएकै कारण विद्यार्थीलाई बाहिरी खुल्ला चौरमा पढाउनु परेको थियोे । चिसोमा पठनपाठन हुन थालेपछि विद्यार्थी समेत विद्यालय कम जाने गरेका थिए । तर अहिले वर्खायामको समयमा हिउँदको चिसोभन्दा बढी पठनपाठनमा असहजता भएको छ । कक्षाकोठा नभएको कारण बाहिरी खुल्ला चौरमा पठनपाठन गराउनुपर्ने भएकाले पानी पर्दाखेरी पढाइ नै प्रभावित हुने गरेको शिक्षकहरूको भनाइ छ ।
अहिले थलारा माध्यमिक विद्यालयमा बालकक्षादेखि १२ सम्म र प्राबिधिक शिक्षा सिभिल इन्जिनियरिङ सहित गरि ५ सय ४९ जना विद्यार्थी अध्यनरत छन्
सरकारले शिक्षा स्वास्थ्य पहिलो प्राथमिकतामा राखेको भएपनि थलारा माध्यमिक विद्यालयमा भने निकै दयनीय अवस्था हुँदासमेत स्थानीय, प्रदेश , र संघीय सरकारले कुनै चासो नदेखाएको यो अवस्थाले जनाउँछ ।
विकासको मेरुदण्ड मानिएको शिक्षा तर्फ सरकार र सरोकारवालाको ध्यान नगएको अभिभावकहरु बताउँछन् । यतिका तह सरकार हुँदा समेत चन्दा संकलन गरेर विद्यालयको भवन निर्माण गरिनु भनेको सरकारनै नभए सरह भएको पाइन्छ । यसमा सरकार र सरोकारवालाको ध्यान जानू अति आवश्यक छ ।
त्यस्तै अहिले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष सँग आफ्नो कुरा भएको बताउँदै सहयोग गर्छौ भनेको समेत प्रधानाध्यापक चौहानको भनाइ छ ।