३ वर्षपछि डडेल्धुरामा ‘जोगेनी जाँत’ हुँदै, जहाँ हुन्छन् दलित पूजारी

सेयर गरौं

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ३ वर्षपछि ‘जोगेनी जाँत’ हुँदैछ। यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक ३ वर्षमा हुने गर्दछ। यसवर्षको जोगेनी जात्रा यही भदौ २१ गते हुने वडाध्यक्ष उपेन्द्रबहादुर जोराले जानकारी दिए।

उनका अनुसार यो जाँत परापूर्वकालदेखि नै मनाइँदै आइएको हो। उक्त मेला भर्नाको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजन आउने गर्दछन्। गाडीमार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीन/चार घण्टामा पुग्न सकिन्छ। यस जाँतलाई ‘चौंसठ्ठी माता’ को रूप पनि भनिन्छ। यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्।

जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरू चौलाहरूको पनि हुने गर्दछन्। जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन्। अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका या रजस्वला भएका महिलाहरू पनि यो जात्रामा जान पाउँछन्।

सबै गाउँलेहरू र कर्लै देवताको धामी जात्रा कुन दिन गर्ने भनेर बिरुडा पञ्चमीको साँझ कोटेउडाको देउथलीमा भेला हुने गर्दछन्। स्थानीयकाअनुसार जात्राको दिन र नौर्ता बस्ने व्यक्ति तोकिन्छ। उक्त जात्रामा भने सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ।

जात्राको दिन तोकिएपछि गाँउबाट सार्की थरका र तिरुवा थरकाले पोखलो (पूजा गर्न चाहिने अन्न र अरु सामान) उठाउने काम गर्छन्। जात्रा सुरु हुने केहि दिन अगाडि भागेका वीरहरूको पूजाआजा गरिन्छ। जसलाई गाउँलेहरू ‘भैरव’ बाद्नु भन्छन्। जात्रा हुने एकदिन अगाडि गौरा बिसर्जन गरिन्छ। त्यसै दिन साँझ कोटेउडाको देवथलीमा ‘चौलो’ खेलिन्छ।

यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको स्थानीय बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1230