बैतडीको पञ्चदेवलमा प्राचीन गौरा प्रदर्शन

सेयर गरौं

बैतडी  । बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात लगाएर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाइएको छ । बैतडी सदरमुकाम नजिकै रहेको पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दैआएकोछ । पञ्चदेवल हुलाक टिकमा समेत अङ्कित छ । 

दशरथचन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा हरेक वर्ष मनाइने गौरा पर्वका दिन मुख्य आकर्षणका रूपमा लाखे नाच रहनेगरेको छ । लाखे नाच हेर्ने यहाँ भारतबाट समेत दर्शनार्थी आउनेगरेका छन् ।  

स्थानीय भट्ट र मार्कण्ड जातिका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र रुखविरुवाका पातले शरीर ढाकेर हातमा त्रिशूल समातेर लाखे नाच नाच्दै गौरा मनाउने चलन छ ।  

स्थानीय भट्ट  र मार्कण्ड जातिका मानिसलाई लाखे नाच नाच्ने जिम्मेवारी हुन्छ । लाखे नाच नाच्न मन्दिरबाट एकसय मिटर दूरीमा रहेको सुकनाली कुवामा स्नानगरी शरीरमा तरुलका लहरा, केराको पात अन्य आयुर्वेदिक लहरा र पात प्रयोग गरिन्छ ।  

लाखे नृत्यमा सहभागी हुनेले कमेरो, रातो माटो र खरानीको टीका लगाउने चलन रहेको स्थानीय जानकार ईश्वरीदत्त भट्टले बताए । लाखे नृत्यमा शिवको भजन गाइने उनले बताए ।  

पाण्डवकालीन समयमा निर्माण भएको विश्वास गरिदैंआएको पञ्चदेवलमा मात्रै यस्तो लाखे नाच रहेको संस्कृतिका जानकार उद्धव मार्कण्डले बताए । उहाँले व्रतालु महिलाले बिरुँडाको प्रयोग गरी पार्वतीको पूजा गर्दा पुरुषहरूले शिवको आराधना गर्दै लाखे नाच नाच्ने परम्परा रहेको उनले बताए। 

शिखर वास्तुशालीमै सुर्किको प्रयोग गरी निर्माण गरिएका सातवटा देवल रहेको स्थानलाई पञ्चदेवल नामले प्रसिद्ध छ । पुरातात्त्विक विभागले पञ्चदेवलको जीर्णोद्धार गर्दै आइरहेको छ । पञ्चदेवलमा प्राचीनकालका ढाल, तरबार र सुनचाँदीका भाँडावर्तन रहेका छन् ।

 पञ्चपरेवली गौरा

पञ्चदेवलमा मनाइने गौराको नाम नै पञ्चपरेवली (पाँचभन्दा बढी परिवार) का नामले मनाइँदैआएको छ । मार्कण्ड जातीका भण्डारे र भट्ट जाती पुजारी रहने परम्पराअनुसार चन्द, भण्डारी, ठगुन्ना, बोहरा, तिरुवा र सार्की जातिका मानिस मिलेर गौरा मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार ईश्वरीदत्त भट्टले बताउनुभयो । 

महिलाले निराहार व्रत बसेर गौरीको पूजा गरेका छन् । पुरुष वर्गले शिवको भजन गाउँदै लाखे नृत्यमा रमाएर गौरा पर्व मनाएको स्थानीय रोयल हिल यूथ क्लबका मोहित भण्डारीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311