१९ आश्विन २०८१, शनिबार
धनगढीमा मह भनेर पगालेको चिनी बेच्ने अन्सारी समातिए
धनगढी: धनगढीमा प्रहरीले मह भनेृर पगालेको चिनी बेच्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत उत्तर प्रदेश जिल्ला बस्ती पो.औ. देवापार थाना-नगर, ग्राम बकसर स्थायी घर भएका ३० वर्षीय जुमाईदिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी धनगढी उपमहानगरपालिका-२ फनपार्कस्थित रमेश कुमार सैजुको कच्ची टहरामा भाडामा बस्दै आएका थिए । उनले मह भनी बिक्री गर्नका लागि प्लाष्टिकको गेलन (डिब्बा)मा प्याक गरी राखेको महजस्तो देखिने पगालेको चिनिको रस ४०० के.जी बिना महको माहुरीको चाका ५ के.जी, कुट २ के.जी, कडाई थान एक र चिनि ५० के.जी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यसैगरी खाने, पिउने वा सेवन गर्न नहुने जस्ता कमसल पदार्थ, निर्धारित स्तरभन्दा न्यूनस्तरको मिसावटयुक्त खाद्य पदार्थ फेला पारी कैलाली प्रहरी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलाली, वाणिज्य कार्यालय, धनगढी उपमहानगरपालिकाबाट खटिएको संयुक्त टोलिले बरामद गरेको बताइएको छ ।
बरामद सामानसहित जुमाईदिन अन्सारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लगेर गएको प्रहरीले जनाएको छ ।