२६ कार्तिक २०८१, सोमबार
अन्तर्राष्ट्रिय सम्मेलन भन्दै अछाम पुगे पर्यटक, सरकारलाई थाहै छैन
अछाम: अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जान धेरै पर्यटक आएका छन्। तर, भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका उनी अहिले अलपत्र परेका छन्।
विभिन्न देशबाट २ हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा उनीहरु जयगढ बजारमा रोकिएका छन्।
सरकारको इजाजतबिना आएका उनीहरु प्रवेश नाका चौखुट्टेमा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्
यता सम्मेलनबारे तीनै तहका सरकारलाई जानकारी छैन। सोही कारण स्थानीय प्रशासनले केही पर्यटकलाई अछाम प्रवेश गर्ने नाकामै रोक लगाएको थियो।
उक्त विषयमा अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सम्मेलनका विषयमा आवश्यक सोधपुछपछि गृह मन्त्रालयलाई पत्रचार गरिएको बताए। मन्त्रालयको निर्देशनपछि आवश्यक प्रक्रिया अघि बढ्ने जानकारी उनको भनाई छ।