७ चैत्र २०८१, शुक्रबार

बझाङमा भुकम्पले ३३६ निजी तथा सरकारी भवनमा क्षति, विद्यालयहरूमा बिदा
बझाङ । बझाङमा भूकम्पबाट ३३६ निजी तथा सरकारी भवनहरूमा क्षति पुगेको छ, भने एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
वेपत्ताको खोजि कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । पाण्डेका अनुसार जिल्लामा अहिलेसम्म प्राप्त जानकारी अनुसार २१ सरकारी भवन र ३ सय १५ निजी भवनहरू चर्केका र केहि भत्केको भन्ने खबर प्राप्त भएको छ । भुकम्पका कारण बझाङका दजनौं घर, विद्यालयमा क्षति भएको छ ।
त्यस्तै यता जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै शुक्रबारसम्म पालिका भित्रमा सञ्चालित सामुदायिक र निजी विद्यालयहरुमा बिदा दिएको छ । भूकम्पका कारण धेरै विद्यालयमा क्षति भएको हुदा बिदा दिएको जयपृथ्वी नगरपालिकाका शिक्षा संंयोजक निरजप्रशाद रेग्मीले बताए ।
रेग्मीका अनुसार भूकम्पबाट भएको क्षति र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिएको बताए । भुकम्पका कारण हिजो राति अधिकांस मानिसहरुले खुल्ला चौर सार्वजनिक स्थलमा रात बिताएका थिए । बझाङ मंगलबार मात्रै १२ पटकसम्म भुकम्प गएको छ ।