२७ आश्विन २०८१, आईतवार
बझाङमा विशेषज्ञ सेवा दिन पुगेका जोशीको १५ महिनामै काज फिर्ता अस्पतालको प्रसूति सेवा प्रभावित ।
धनगढीः सुदूरपश्चिमको दुर्गम जिल्ला बझाङमा सेवा दिन्छु भनेर बझाङ पुगेका डा. नवराज जोशीको स्वास्थ्य मन्त्रालयले काज फिर्ता गरेको छ।
मन्त्रालयको सचिवस्तरको निर्णय अनुसार २४ गते मन्त्रालयमै काज फिर्ता गरिएको हो। डा जोशी जिल्ला अस्पताल बझाङमा कार्यरत थिए। उनी स्त्रीरोग विशेषज्ञ चिकित्सक हुन्।
१५ महिना अघि डा जोशीलाई बझाङ पठाइएको थियो। उनलाई मन्त्रालय तानेपछि बझाङ अस्पतालको प्रसूति सेवा प्रभावित बनेको छ।
एक मात्र विशेषज्ञ चिकित्सक रहेको सो अस्पतालका डाक्टर जोशीलाई तान्दा प्रसूति शल्यक्रिया सेवाहरू बन्द भएका छन्। यस्तै सुत्केरीका जटिल अपरेसनहरू पनि बन्द भएका छन्।
मेडिकल आपूर्तिकर्ताहरूलाई गुणस्तरीय उपकरण तथा सामाग्री माग गर्दा भुक्तानीमा कडाइ गर्दा काज फिर्ता पावर लगाएर गराइएको बताइएको छ।
गत आर्थिक वर्षमा न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो बनेको थियो।