बडा दसैँको नवाैँ दिन आज महानवमी पर्व मनाइँदै

सेयर गरौं

काठमाडाैँ । बडा दसैँको नवाैँ दिन आज महानवमी पर्व । नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिन विभिन्न शक्तिपीठमा   दुर्गा पूजा गर्नुका साथै घटस्थापनाका दिन राखिएको जमरा चढाइन्छ । 

दसैँ घर र कोतलगायत  विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवीभागवत एवम् देवी स्तोत्र पाठ गरिन्छ । 

पशु बलि नदिने र शाकाहारीहरूले भने महानवमीका दिनमा कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलको बलि दिएर पायस चढाउँछन् । धेरै ठाउँमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । कतिपय शक्ति पीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च बलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धि दात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोत पूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन छ । 

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुला गरिएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमान ढोका दरबारको मूल चोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ । मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325