१२ माघ २०८१, शनिबार
बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
बझाङ : बझाङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र लिनका लागि स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको बायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो। प्रशासनले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफैँ आउनुपर्ने जनाएको छ ।
पहिलो चरणमा १३ हजार ५ सय परिचयपत्र तयार भएर बझाङ आइपुगेका छन् । आज पहिलोदिन जयपृथ्वी नगरपालिका ९ का २९ वर्षिय बिबेक कुमार खड्कालाई प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्नुभएको छ । कार्यालयका अनुसार सबैलाई संगै वितरण गर्दा भिड हुने भएकोले मोबाइलमा सन्देश पठाएर वितरण गर्ने गरिएको छ । नागरिकका सेवा सुविधाहरू सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण छ। राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम समेत रहेको छ ।