१९ आश्विन २०८१, शनिबार
बझाङ बागथलामा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा आयो
बझाङको बित्थडचिर गाउँपालिका–८ बागथलामा चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
शुक्रबारदेखि बागथलामा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा आएको हो। यो बझाङ जिल्लाकै पहिलो चार्जिङ स्टेशन हो। यसअघि जिल्लाका कुनै पनि स्थानमा चार्ज स्टेशन थिएनन्।
पछिल्लो समय विद्युतीय कारको लोकप्रियता बढ्दै गएकाले बागथलामा एउटा पनि चार्ज स्टेशन नभएकाले सबैको यात्रालाई सहज बनाउन स्टेशन सञ्चालनमा ल्याइएको सञ्चालक सुरेन्द्र मल्लले बताए। उनका अनुसार एक चोटीमा एउटा गाडी मात्र चार्ज हुनेछ।
फुल चार्ज हुन ४० देखि ५० मिनेट लाग्ने उनको भनाइ छ। सञ्चालक मल्लले चार्जिड स्टेशन खोल्न विद्युत् प्राधिकरणको सहयोगले गर्दा सम्भव भएकाले प्राधिकरणलाई विशेष धन्यवाद समेत दिए। यो चार्जिङ स्टेशन सीजी मोटर्सको आधिकारिक बिक्रेता सुदूरपश्चिमको ब्रम मोटर्स प्रालि बोराडाँडी कैलालीद्वारा सञ्चालित हो।