२७ आश्विन २०८१, आईतवार
भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु
भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
बेंग्लुरको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–१ का मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्त रहेका छन्। कोठामा खाना पकाइरहेका बेला ग्याँस विस्फोट भएपछि मदन, उनकी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासि ग्याँस विस्फोट भएको थियो। घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो। घटनापछि पाँचै जनालाई उपचारका लागि अस्पताल पुगाए पनि छोराको हिजो मृत्यु भएको हो। छोरी अनिताको आज बिहान मृत्यु भएको छ।
घाइतेमध्ये मदनको अवस्था निकै गम्भीर छ। जेठी छोरी ११ वर्षकी निरुताको स्वास्थ्य अवस्था पनि जटिल छ ।चिकित्सकका अनुसार मदनकी श्रीमती प्रेमजला ७२ प्रतिशत र छोरी निरुताको ४७ प्रतिशत शरीर जलेको घाइते भएकाहरूको उपचारका लागि सहयोग गरिरहेकी एक जना नेपाली जमुना पौडेलले बेंग्लुरुबाट जानकारी दिनु भएको छ । झ्याल नभएको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको घाइतेहरूले सुनाएको पौडेलले जानकारी दिनु भएको छ ।