२८ आश्विन २०८१, सोमबार
थलारा गाउँपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा
१६ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकाले पूर्ण खोप पाएपछि बुधबार थलारा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बिहीबार एक समारोहकाबीच थलारा गाउँपालिका पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको हो ।
थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीका अनुसार पालिकाका ९ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका २ सय ४६ जना बालबालिका र १६ महिनादेखी ५९ महिना मुनीका ८ सय ६ जना गरी १०५२जना बालबालिकाले पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो । गाउँपालिकाको सभाहलमा बिहीबार गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले पालिकालाई पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा गर्नुभएको हो ।
उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित, जनस्वास्थ्य निरिक्षक दिपक बहादुर ऐडि,पालिका भित्रका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाको उपस्थिती रहेको थियोे । ५ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ । स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका/नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।