२७ आश्विन २०८१, आईतवार
बझाङ जिल्लाको ऐतिहासिक बिर्सती मेला आज उद्घाटन
बझाङ जिल्लाको ऐतिहासिक बिर्सती मेला आज उद्घाटन गरिएको छ । दुर्गाथली गाउँपालिका र छबिसपाथीभेरा गाउँपालिकाको केन्द्र रहेको थली नौबिसमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बिर्सती मेलाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको हो । बिर्सती मेला आयोजक मूल समितिका अध्यक्ष सुरज बहादुर दौल्यालको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिव पुर्ब माननीय जनक बहादुर बुढा रहनुभएको थियो । यस्तै विशिष्ट अतिथिमा छबिसपाथीभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने र दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा रहनुभएको थियो । कार्यक्रम जयपृथ्बी नगरपालिका उप रतन बहादुर सिंह दुर्गाथली गाउँ पालिका उपाध्यक्ष जनक बहादुर दौल्याल बिभिन्न वडा अध्यक्षहरू लगायत अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सचिव जनक बहादुर बुढाले मेलालाइ भव्य र सभ्य तरीकाले सम्पन्न गर्न शुभकामना व्यक्त गर्नुभयो साथै जिल्लाकै प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मेला मध्येको एक बिर्सती मेलाको परम्परागत रिती रिवाज संस्कृति बचाइ राख्न सबै लागीपर्नुपर्ने बताउनुभयो ।
दुर्गाथली र छबिसपाथीभेरा गाउँपालिकाको आस्थासँग जोडिएको बिर्सती मेलामा विभिन्न प्रतियोगिताहरू समेत सञ्चालन समेत भईरहेका छन्। मेलामा सांस्कृतिक कार्यक्रम, डेउडा दोहोरी लगायतका प्रतियोगिताको समेत आयोजना गरिएको बिर्सती मेला आयोजक मूल समितीले जनाएको छ । आज पहिलो दिन देउडा गायिका गौरी भट,सुनील नेपाली, लक्ष्मण अधिकारी, तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।
मेलाका अवसरमा नौबिसमा रहेको दुर्गादेवी मन्दिरमा धुमधामका साथ पूजाआजा समेत गरिएको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको सो मन्दिरमा पुजाआजा गर्न बझाङ, बैतडी र डोटी देखिका भक्तजनहरू पुग्ने गरेका छबिसपाथीभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले बताउनुभयो । परापूर्वकालमा नै देवी दुर्गा र सुर्मा देवी अलग हुँदा मन्दिर नजिकै रहेको ठूलो पाँगरको रुख सुर्मा देवीले च्यातेर लिएको दृश्य अहिले पनि देखिन्छ उहाँले भन्नुभयो ।। बझाङ जिल्लामा लाग्ने विभिन्न मेला चाडपर्व मध्ये नौबिसको बिर्सती मेला जिल्लाकै प्रमुख प्रसिद्ध धार्मिक तथा ऐतिहासिक मेला मध्येको एक हो।
बिर्सती मेलामा खाली खुट्टा जानुपर्छ भने मन्दिर रहेको बिर्सतीका ठुलो खेती गर्ने थली जिउलोमा एकै दिन बिउ राख्ने र रोपाई गर्ने गरिन्छ। कार्तिकमा पनि एकै पटक धान काट्ने प्रचलन अहिले पनि कायमै रहेको लेकगाउँका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अहिले पनि जिउलामा खाली खुट्टा जानु पर्ने धार्मिक विश्वास कायमै रहेको छ।