२७ आश्विन २०८१, आईतवार
भोलि साँझदेखि २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने
भोलि साँझदेखि २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ ।महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ । त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ‘सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ विभागले भनेको छ ।भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ । ‘शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन अनुरोध छ’, विशेष सूचनामा भनिएको छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले २७ गते साझ देखि २९ गते बिहान सम्म सुदुरपश्चिम प्रदेशमा भारि वर्षा हुने अनुमान गरेकाले सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना जारी गरेर उक्त अबधिमा सचेत रहन नागरिक लाई अनुरोध गरेको छ भने हुनसक्ने बिपदका घटनामा उद्वारको लागि तयारी अवस्थामा बस्न मातहतका कार्यालय लाई भनेको छ ।