७ माघ २०८१, सोमबार
थलारामा लागू भएन जिल्ला प्रशासन कार्यालय बझाङले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर
थलारा गाउँपालिकामा मनोमानी भाडा अशुल्ने क्रम रोकिएको छैन् । केही हप्ता अघि जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला ट्राफिक कार्यलयले जिल्ला भित्रका राजमार्ग र ग्रामिण रुटमा चल्ने सार्वजनिक सवारी साधन जीपको भाडादर कायम गरेको भएपनि जीप धनीहरुले भने अझै भाडादर लागु गरेका छैनन् ।
जिल्लामा सवारी साधनहरुले यात्रुहरुबाट चर्को भाडा लिइरहेको गुनासो गरेपछी जिल्ला प्रशनसन कार्यालयले सवारी साधनको भाडादर कायम गरी लागु गर्न निर्देशन दिएको थियो । तर थलारामा सञ्चालन हुने सवारी साधनमा भने भाडादर कार्यन्वयन गरेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको जिल्ला यातायात व्यवस्थापन समितीको बैठकले जयपृथ्वी राजमार्गमा प्रतिकिलोमिटरमा ९ रुपैयाँ र ग्रामीण सडक खण्डमा प्रतिकिलोमिटर २० रुपैयाँ भाडादर तोकेको थियो । तर जीप धनीहरुले थलाराका ग्रामीण कच्ची सडक खण्डमा प्रतिकिलोमिटर ३० देखि ४० रुपैयाँसम्म लिने गरेका छन् ।
थलारा गाउँपालिकामा जीप धनीहरुले पुरानै भाडा लिरहेको भएपनि सम्बन्धित निकाय मौन रहेको थलारा गाउँपालिका वडा नम्बर ७ आठाबिसका मीन बहादुर रोकायाले बताउनुभयो । उनले झनाना देखि माडौकाट्ने सम्म १ सय ५४ रुपैयाँ तोकिएको भएपनि ३ सय रुपैयाँ नदिएसम्म जीप धनीले यात्रुलाई ओसारपसार गर्न नमान्ने गरेको गुनासो गर्नु भयो। भनेजति भाडा तिरेर यात्रा गर्न बाहेक विकल्प नभएपछि आफुहरु धमाधम चर्को भाडा तिर्न बाध्य भएको यात्रुहरुको गुनासो छ ।
जिल्ला प्रशासनले बेलाबेला भाडादर कायम गर्ने गरेको भएपनि त्यसलाई कार्यान्वयन गर्न नसेको भन्दै प्रशासनको पनि आलोचना बढ्दै गइरहेको छ । जिल्ला प्रशासनले नयाँ भाडादर कार्यान्वयन नगर्ने सवारी सञ्चालकलाई कारबाही गर्ने बताउदै आएपनि फितलो अनुगमन र प्रभावकारी नियमनको अभावले निर्णय कार्यान्वयन हुन सकेको छैन् ।
सार्वजनिक यातायातको भाडादर घटाइएको हप्तौं बितिसक्दा पनि सो निर्णय कार्यान्वयन नहुँदा सर्वसाधारण मारमा परेका छन् ।