२ फाल्गुन २०८१, शुक्रबार

बैतडीमा जिप दुर्घटना परि गम्भीर घाइते भएका दुईजनाको मृत्यु
बैतडीमा आज बिहान भएको जिप दुर्घटना परि गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका १ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पावर्ती धामी छन्।
उनीहरू दुवैजनाको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
शनिबार बिहान ६ बजे जिल्लाको सिगास गाउँपालिका १ माँडौ सु प्र प्र ०१००१ च ४०२८ नम्बरको जिप दुर्घटनामा परेको थियो। सो दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्।
सिगास-१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्।
घाइतेहरु सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना गराउने चालक जयन्त बोहरा फरार छन्।
दुर्घटनाग्रस्त जिप सडकबाट करिब ७ सय मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।