११ बैशाख २०८२, बिहीबार

दुर्गाथलीमा बन्दै आधुनिक पार्क, पर्यटकीय गन्तव्यको विकास हुने
बझाङको दुर्गाथली गाउँपालिकामा आधुनिक संरचनासहितको ठूलो पार्क निर्माण कार्य अगाडि बढाइएको छ । पार्क भित्र कल्चर अनुसार देउडा खेल्ने स्थान, गाउँपालिकादेखि बेतलमाडुसम्म सिँढी निर्माण, आकर्षक गेट, घेरबार, बच्चाहरूका खेलौना, आइ लभ दुर्गाथली लेखिएको संरचना, ओपन जिम, विशाल इगल मूर्ति, आधुनिक पिङ लगायतका संरचनाहरू बनाइने छन् ।
आज दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापा तुफान, इन्जिनियर तथा अन्य प्राविधिक टोलीले स्थल निरीक्षण गरेका छन् । पार्क निर्माणका लागि संघीय मामिला मन्त्रालयको हिमाली समृद्धि कार्यक्रम अन्तर्गत ४० लाख र पालिकाको कार्यविधि अनुसार १० प्रतिशत अर्थात् ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अपुग रकम गाउँपालिकाको क्रमागत योजनाबाट व्यवस्थापन गरिने अध्यक्ष दिलबहादुर तुफानले जानकारी गराए ।
अध्यक्ष तुफानले भने, “दुर्गाथलीलाई पर्यटकीय एवं सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । पार्क निर्माणपछि यहाँका बासिन्दाले सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाउनेछन् भने पर्यटकहरूका लागि आकर्षक स्थलको रूपमा विकास हुनेछ । आवश्यक थप बजेट व्यवस्थापन गर्दै यो योजनालाई सफल बनाउनेछौं ।”
गाउँपालिकाले पार्क निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । जसले स्थानीय आर्थिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने छ ।