११ बैशाख २०८२, बिहीबार

आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन
आज वैशाख १ गते, विक्रम संवत् २०८२ सालको पहिलो दिन। नेपालभर नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ।
वैशाख सङ्क्रान्तिका रूपमा चिनिने आजको दिन सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्छ। यही कारण यो दिनलाई मेष सङ्क्रान्ति पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईका अनुसार सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत मानिन्छ। “विक्रम संवत् आदित्य सूर्यसँग सम्बन्धित संवत्सर हो। यसमा शक संवत्का विशेषता र इस्वी संवत्का व्यावहारिक पक्षहरू पनि समावेश छन्,” भट्टराई बताउँछन्।
विद्वानहरू भन्छन्— सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष सुरु हुने भएकाले यो वैज्ञानिक पनि छ। सौरमान (सूर्य आधारित) र चान्द्रमान (चन्द्रमा आधारित) दुवैको सन्तुलन यस संवत्मा गरिएको छ। विक्रम संवत् कलियुग सुरु भएको ३०४४ वर्षपछि सुरु भएको हो।
आजको दिन धेरैले बिहानै उठेर स्नान गर्ने, घर आँगन सफा गर्ने, मन्दिरमा पूजा–दर्शन गर्ने र मिठा परिकार खाएर आफन्त–साथीसँग भेटघाट गरी शुभकामना साटासाट गर्छन्। विदेशमा रहेका नेपालीहरूले पनि यही दिनलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ।
चान्द्रमानअनुसार भने नयाँ संवत्सर चैत्र शुक्ल प्रतिपदादेखि नै सुरु भइसकेको छ, जुन यस वर्ष चैत १७ गते परेको थियो। उक्त दिनदेखि ‘सिद्धार्थी’ नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए।
वैदिक सनातन हिन्दू परम्पराअनुसार कुल ६० संवत्सर छन्, जुन घुम्दै–फिर्दै दोहोरिइरहन्छन्। अहिले चलिरहेको सिद्धार्थी संवत्सर ५३ औं हो।