३ जेष्ठ २०८२, शुक्रबार

थलारामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि स्थानीय कानुन निर्माण तथा बजेट तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न
थलारा गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि स्थानीय कानुन निर्माण तथा बजेट तर्जुमा सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ।
थलारा गाउँपालिकाको आयोजनामा बुधबारदेखि पालिकाको सभाहलमा सुरु भएको कार्यशाला बिहीबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यशालामा उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।
उक्त कार्यशालामा नीति निर्माणको प्रक्रिया, कानुनी मस्यौदा तयार गर्ने तरिका, स्थानीय आवश्यकता पहिचान गर्ने विधि तथा बजेट तर्जुमा र प्राथमिकताका आधारमा योजना छनोट गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको समापनमा थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले कार्यक्रमले स्थानीय तहमा नीति निर्माण र बजेट प्रक्रियामा जनप्रतिनिधि तथा कर्मचारीहरुको ज्ञान र क्षमता अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरेको बताउनुभयो ।

उपाध्यक्ष राम बहादुर खातीले कार्यशालाले जनप्रतिनिधिले खेल्नुपर्ने भुमिका र बजेट निर्माण लगायतका बिषय स्पष्ट हुने अवसर प्रदान गरेको धारणा राख्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याले स्थानीय तहको शासन प्रणाली सुदृढ पार्न कार्यशालाले महत्वपूर्ण भुमिकाखेल्ने भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई थप समावेशी, पारदर्शी र नीतिनिर्माणमैत्री बनाउने बताउनुभयो ।

कार्यशालामा सहभागी प्रतिनिधिहरूको तर्फबाट वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी र वडा नम्बर ४ कि महिला वडा सदस्य पार्भती बिष्टले धारणा राख्नु भएको थियो । उनले कार्यक्रमबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको भन्दै स्थानीय कानुनको प्रभावकारिता र कार्यान्वयनमा पहल गर्ने बताउनुभयो ।
प्रशिक्षक झङकर कुवर र पत्रकार महासंघ बझाङ शाखाका पूर्व अध्यक्ष जगदीश रोकायाले कार्यशालामा स्थानीय कानुन निर्माण तथा बजेट तर्जुमा लगायतका बिषयमा सहजिकरण गर्नु भएको थियो ।




