३ जेष्ठ २०८२, शुक्रबार

थलाराको प्रमुख पर्यटकीय स्थल ‘छडिभेल’ को विकासका लागि पूर्वाधार निर्माण सुरु
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत थलारा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ‘छडिभेल’ को विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ। प्राचीन धार्मिक र प्राकृतिक महत्त्व बोकेको छडिभेल क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटक आकर्षण बढाउने उद्देश्यसहित गाउँपालिकाले निर्माण प्रक्रिया अघि बढाएको हो।
थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खाती, वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी, प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्या ईन्जिनियर संगित रोकाया लगायत स्थानीय समुदाय हरूको उपस्थितिमा बिहीबार सडक निर्माणकार्य को शुभारम्भ गरिएको हो ।

उपाध्यक्ष राम बहादुर खातीले छडिभेल धार्मिक तथा पर्यटकीय स्थल भएकोले । यसलाई धार्मिक पर्यटनसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो ।
थलारा गाउँपालिका ईन्जिनियर संगित रोकायाका अनुसार अहिले सुरू गरिएको काम अन्तर्गत सडकमार्ग, मन्दिर,स्वीमिङपुल, भिउटावर, पिक्निक स्पोट लगायतका संरचना निर्माणको कार्य हुनेछन।

गाउँपालिकाले संघिय सरकारसँगको समन्वयमा करिब ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम सुरु गरेको छ। निर्माणकार्यको जिम्मा सहस्रलिङ निर्माण सेवाले पाएको छ ।
छडिभेल क्षेत्र रमणीय झरना , स्वच्छ पानीका मुहानहरू, र धार्मिक मान्यता र मनमोहक प्राकृतिक दृश्यका लागि परिचित छ। स्थानीयवासीका अनुसार हरेक वर्ष हजारौं भक्तजन र पर्यटक यहाँ आउने गरेका छन्।

पूर्वाधार निर्माण सम्पन्न भएपछि यस क्षेत्रले पर्यटकको सुविधालाई सहज बनाउँदै स्थानीय रोजगारी तथा आम्दानीमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
