९ माघ २०८२, बिहीबार

थलारा गाउँपालिका १ र ३ मा सञ्चालन गरिएको १६ हप्ते कृर्षक पाठशाला सम्पन्न
थलारा गाउँपालिका १ र ३ मा सञ्चालन गरिएको १६ हप्ते कृर्षक पाठशाला सम्पन्न भएको छ।फागुनदेखि सुरु भएको पाठशाला बिहीबार सम्पन्न भएको हो ।
कृषि ज्ञानकेन्द्र बझाङको आर्थिक सहयोग र थलारा गाउँपालिका कृषि शाखाको प्रबिधिक सहयोगमा पाठशाला सञ्चालन गरिएको थियो ।

कृषिमा आत्मनिर्भरता, सीप विकास तथा व्यवसायिकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त पाठशालामा कृषकहरूलाई आधुनिक कृषि प्रणाली, मौसमी तथा बेमौसमी तरकारी खेती, जैविक मलको प्रयोग, कीट व्यवस्थापनलगायत विषयमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो।
वडा नम्बर १ को रेगम जिउला कृषक समूहका ३० जना र वडा नम्बर ३ को नवादेउ कृषक समुहका २९ जना स्थानीय कृषकहरूको सहभागिता रहेको थियो।

दुईवटै समुहमा टमाटर र खर्सानी खेतीवारे प्रशिक्षकहरूद्वारा कृषकहरूलाई खेत तथा बगैंचामा प्रत्यक्ष अभ्यास गराई कृषि उपज वृद्धि गर्ने सीप सिकाइएको थियो।
कार्यक्रममा सहभागिता जनाएका कृषकहरूले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतारेर आफ्नो उत्पादन र आम्दानी बढाउने विश्वास व्यक्त गरेका छन्।
पाठशालामा थलारा गाउँपालिका कृषि शाखा प्रबिधिक बिनोद रावल तेज बहादुर ओली र लोकेन्द्र धामीले आधुनिक कृषि प्रणाली, मौसमी तथा बेमौसमी तरकारी खेती, जैविक मलको प्रयोग, कीट व्यवस्थापनलगायत विषयमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गर्नु भएको थियो ।

वडा नम्बर १ को रेगममा सञ्चालन भएको कृषि पाठशाला समापन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रवीन्द्र जोशी र वडा नम्बर ३ को जामबाझमा सञ्चालन भएको कृषि पाठशाला समापन कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उनले कृषिलाई आधुनिक बनाउँदै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उनले कृषकहरूलाई आधुनिक कृषि उपकरण तथा अनुदान सहयोग पनि उपलब्ध गराउने जानकारी दिनुभयो।







