२४ कार्तिक २०८२, आईतवार

थलारा गाउँपालिकामा टुहुरा तथा अनाथ बालबालिका लाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न
थलारा गाउँपालिकामा टुहुरा तथा अनाथ बालबालिकाको शैक्षिक सहायताका लागि छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको छ। आर्थिक अवस्था कमजोर भएका तथा परिवारविहीन बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाको शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत ३२ जना टुहुरा तथा अनाथ विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। प्रत्येक विद्यार्थीलाई एक झोला ६ वटा कापी १ दर्जन कलम ,औजार बक्स र ७ हजार ५ सय नगद सहयोग प्रदान गरिएको थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले “कसैले पनि आर्थिक अभावका कारण शिक्षा पाउनबाट वञ्चित नहुन भन्ने उद्देश्यले गाउँपालिकाले बालबालिकाको अभिभावककत्व ग्रहण गरि टुहुरा अनाथ बालबालिका छात्रवृत्ति कार्यक्रम घोषणा गरेको बताउनुभयो । साथै उनले मेहनत गरेर पढ्न बालबालिकालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, शिक्षा संयोजक हर्कबहादुर रोकाया शिक्षा सहायक रायभान ओलीलगायत विषयगत शाखा प्रमुख, टुहुरा अनाथ बालबालिका तथा उनका अभिभावकको उपस्थिति रहेको थियो । बालबालिकाले यस्तो सहयोगले पढाइमा थप हौसला मिल्ने बताएका छन्।
गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



