९ माघ २०८२, बिहीबार

हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
यस वर्ष भदौ १० गते मङ्गलबार हरितालिका (तीज), भदौ ११ गते भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी र भदौ १२ गते ऋषि पञ्चमी पर्व परेको छ । गणेश चौँथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
पौराणिक मान्यता अनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएकी थिइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
तीज पर्वमा पशुपतिनाथ दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाएको थियो ।
तीजका अवसरमा दर्शनार्थ जाने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्था कोषले गरेको छ।
कोषका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट मन्दिर छिर्न चार वटा मागको व्यवस्था गरिएको छ । पहिलो मार्ग गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।
दोस्रो मार्ग मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भीमसेनस्थान–भूवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्ष हुँदै फर्कने व्यवस्था गरिएको छ ।
यस्तै, पिङ्गलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई कोटिलिङ्गेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्ष हुँदै फर्कन तेस्रो मागको व्यवस्था गरिएको कोषले जनाएको छ ।
चौथो मार्ग तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर श्रीपशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । मूल मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको छ।
दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा वितरणको व्यवस्था मिलाइएको छ ।
बहुमूल्य गरगहना लगाएर र ससाना बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ ।
तीजको अवसरमा सरकारले महिला कर्मचारीलाई सार्वजनिक विदा दिएको छ ।







