थलारा गाउँपालिकामा विपद्को समयमा ठोस फोहोरमैला व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न

सेयर गरौं

प्रतिबद्ध ३ परियोजनाको आयोजनामा थलारा गाउँपालिकामा विपद्को समयमा ठोस फोहोरमैला व्यवस्थापन सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ।
थलारा गाउँपालिकाको आयोजना तथा प्रतिबद्व-III परियोजनाको सहजिकरणमा ठोस फोहरमैला व्यवस्थापन सम्बन्धी पालिका स्तरीय १ दिने तालिम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, माध्यमिक विद्यालयका शिक्षकहरू, बजार व्यवस्थापन समितिका पदाधिकारीहरु तथा सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरू गरी ३० जनाको सहभागिता रहेको थियो।


तालिममा ठोस फोहरमैला व्यवस्थापनको अवधारणा र वर्तमान अवस्था, फोहरका प्रकार (कुहिने, नकुहिने, पुनः प्रयोगयोग्य तथा हानिकारक फोहर), स्रोतमा फोहरको वर्गीकरण, फोहर संकलन, ढुवानी तथा सुरक्षित भण्डारण प्रक्रिया, फोहरको पुनः प्रयोग, कम्पोस्ट निर्माणका विधिहरू, घरधुरी तथा समुदाय तहमा फोहर व्यवस्थापनका व्यवहारिक उपायहरू, ठोस फोहरमैला व्यवस्थापनमा स्थानीय तहको भूमिका, नीति, कानुनी व्यवस्था तथा दायित्व, सामुदायिक सहभागिता र जनचेतनाको महत्व, विद्यालय र समुदायमार्फत व्यवहार परिवर्तनका उपायहरू, तथा दिगो र वातावरणमैत्री फोहरमैला व्यवस्थापनका चुनौती र समाधानका उपायहरूको विषयमा विस्तृत छलफल गरिएको थियो।


कार्यक्रम समापनका क्रममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाले फोहरमैला व्यवस्थापन स्थानीय सरकारका लागि चुनौतीको विषय भएकाले आगामी बैठकमा यसलाई प्राथमिकताका साथ छलफल गरी आवश्यक निर्णय लिइने बताउँदै, सहभागीहरूलाई आफूले सिकेका विषयहरू समुदायमा सिकाउन तथा आ–आफ्नो घरमा कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गर्न आग्रह गर्नुभयो।
तालिममा परियोजनाका सागर हमाल, महेश बडैला र किरन पाण्डेले विपद्को समयमा ठोस फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 407