आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बझाङमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा ओसार पसारमा कडाइ गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। । जिल्ला प्रशासन कार्यालय बझाङले एक सूचना जारी गर्दै मतगणनाको नतिजा सार्वजनिक भई विजय जुलुस सम्पन्न नहुँदा सम्म मदिरा सम्बन्धी सम्पूर्ण गतिविधिमा रोक लगाइएको जानकारी दिएको हो ।
प्रमुख जिल्ला अधिकारी मकेश कुमार केशरीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार फागुन १५ गते बिहान १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवन गर्न नपाइने जनाइएको छ । प्रशासनले यस सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री, ओसारपसार वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । साथै, निर्वाचनको मर्यादा, शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न सबै सरोकारवाला निकाय, व्यवसायी र सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज जिल्ला प्रहरी कार्यालय बझाङले बजारमा मदिराजन्य पदार्थ बेचबिखन नगर्न माइकिङ समेत गरेको थियो ।
