बझाङ — विगतका निर्वाचनमा बझाङ जिल्लामा फर्जी मत हाल्ने र बुथ कब्जा गर्ने जस्ता घटना भएको सन्दर्भलाई मध्यनजर गर्दै यसपटक फागुन २१ गते हुने निर्वाचन कडा निगरानीका साथ सञ्चालन गरिने भएको छ।
अघिल्ला वर्षहरूमा मतदानका दिन राजनीतिक दलका प्रतिनिधि तथा एजेन्टहरूको मिलेमतोमा केही बुथमा फर्जी मत हाल्ने र बुथ कब्जा गर्ने प्रयास हुँदा झडपसमेत हुने गरेको थियो। कतिपय स्थानमा दलहरूको सहमतिमा फर्जी मत हालिँदा मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू मुखदर्शक बनेको जनगुनासो आएपछि सोमबार जिल्लामा उच्चस्तरीय बैठक बसेको थियो। बैठकले यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कारबाही गरिने जनाएको छ।
निर्वाचनमा सहभागी सात राजनीतिक दलका नेताहरू, प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपाली, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा बसेको बैठकले फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष, विश्वसनीय र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने सहमति गरेको छ।
बैठकले मतदाता सूचीमा नाम भएका व्यक्तिले मात्र मतदान गर्न पाउने तथा आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्णय गरेको छ। साथै, एक राजनीतिक दल वा उम्मेदवारका तर्फबाट दुई जना मात्र एजेन्ट प्रतिनिधि राख्न पाइने र मतदान स्थलमा पालैपालो एक जना मात्र बस्न पाउने व्यवस्था गरिएको छ।

आफैं मतदान गर्न नसक्ने दृष्टिविहीन वा अशक्त व्यक्तिको हकमा एकाघरको सदस्यले मतदान अधिकृतको अनुमति लिएर मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यसका लागि अपाङ्गता परिचयपत्र अनिवार्य देखाउनुपर्नेछ। अशक्तताको हकमा मतदान अधिकृतले पुष्टि गरेपछि मात्र सहयोगीमार्फत मतदान गर्न पाइनेछ। एक व्यक्तिले एकभन्दा बढी दृष्टिविहीन वा अशक्त व्यक्तिको मतदान गर्न नपाउने निर्णय पनि गरिएको छ।
बैठकले मतदान स्थलमा प्रज्वलनशील तथा तरल पदार्थ लैजान निषेध गरेको छ। मतदाता नामावलीमा मृत्यु भएका वा दोहोरो नाम भएका व्यक्तिको नाम मतदान अघि सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट हटाउने निर्णय गरिएको छ। गोप्य मतदान प्रभावित नहुने गरी केही मतदान केन्द्रमा सिसिटिभी क्यामरा जडान गरिने प्रमुख निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो।
मतदानका दिन लाइनमा बसेका मतदाता र आधिकारिक अनुमति प्राप्त व्यक्तिबाहेक अन्यलाई मतदान केन्द्र प्रवेश निषेध गरिनेछ। दल तथा उम्मेदवारका तर्फबाट खटिने एजेन्ट प्रतिनिधिहरूको नाम मतदानभन्दा तीन दिनअघि नै मतदान अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ।
कुनै व्यक्तिले फर्जी मत हाल्ने वा बुथ कब्जा गर्ने प्रयास गरेमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ अनुसार कडा कारबाही गरिने बैठकले जनाएको छ। मतदान सम्पन्न भएपछि मतपेटिका मतगणना स्थलसम्म पुर्याउँदा दलका प्रतिनिधि एजेन्टहरूले मतपेटिका बोकेको सवारीसाधनको पछाडि आफ्नै सवारी प्रयोग गर्ने सहमति भएको छ।
मतदानका क्रममा कुनै विवाद उत्पन्न भएमा प्रचलित ऐन, कानून तथा निर्देशिका अनुसार समाधान गरिने र मतदान अधिकृत तथा दलका प्रतिनिधि एजेन्टबीच छलफलमार्फत सहमति खोजिने निर्णय गरिएको छ।

बझाङमा ८५ अति संवेदनशील, ४९ संवेदनशील र ३ सामान्य मतदान केन्द्र रहेका छन्।
