१४ पुष २०८२, सोमबार

थलारा हुँदै खप्तड प्रवेश गर्ने प्रवेशद्वारको उद्घाटन
खप्तड क्षेत्रतर्फ जाने मुख्य वैकल्पिक मार्गमध्ये सवै भन्दा छोटो मानिने बझाङको थलारा हुँदै खप्तड प्रवेश गर्ने प्रवेशद्वारको आज एक समारोहका बीच उद्घाटन गरिएको छ । थलारा अध्यक्ष प्रकाश बहादुर रोकायाले रिवन काटेर औपचारिक रूपमा प्रवेश द्वारको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा उपाध्यक्ष राम बहादुर खाती, ६ नम्बर वडा अध्यक्ष अनिल कुमार बिष्ट,७ नम्बर वडा अध्यक्ष किस्ने सार्की, ९ नम्बर वडा अध्यक्ष लोकेन्द्र बिष्ट लगायत स्थानीय तहका जनप्रतिनिधि, स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकायाले खप्तड क्षेत्रमा पर्यटकको बढ्दो आकर्षणलाई व्यवस्थित बनाउन यो प्रवेशद्वार महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिकाले करिव २२ लाखको लागतमा उक्त प्रवेशद्वार निर्माण गरेको हो । थलारा गाउँपालिका भएर खप्तड प्रवेश गर्ने मार्गहरु मध्ये झनाना देखि घोडादाउना हुदै जाने यो मार्ग सवै भन्दा छोटो हुनुकासाथै खप्तडको महत्वपर्ण धार्मिक स्थल माईका थान मन्दिर पनि यसै मार्गमा पर्दछ ।
खप्तड पछिल्ला केही वर्षयता धार्मिक तथा प्राकृतिक पर्यटनकासाथै जैविक विविधताले पर्यटकलाई आकर्षित गर्दै आएको छ।

थलारालाई ‘खप्तडको मुख्य प्रवेशद्वार’को रूपमा चिनाउने लक्ष्य लिएको थलारा गाउँपालिका उपाध्यक्ष राम बहादुर खातीले बताउनुभयो ।
उनका अनुसार, अब पर्यटकले थलाराबाट छिटो र सुरक्षित यात्रा गर्न सक्नेछन् । मार्गमा आवश्यक सुविधा तथा ट्रेकिङ मार्गसम्बन्धी विवरण विश्रामस्थल, साना कुटी, संकेत बोर्डहरू स्थापना गर्ने योजना पनि अघि सारिएको छ।
थलारा गाउँपालिकाले झनाना देखि गाडाबाज पोष्ट सम्म सडक मार्ग पुर्याउने लक्ष लिएको छ ।उक्त सडक अहिले वडा नम्बर ७ को बगिराको खान सम्म पुगेको छ ।







