Oplus_16908288
थलारा गाउँपालिकामा एक जना ब्यक्ति तीन दिन देखि बेपत्ता भएकाछन । थलारा गाउँपालिका वडा नम्बर ५ तल्लो दुवालीका ५८ वर्षका लाल बहादुर सिंह बेपत्ता भएका हुन ।
सिंह चैत्र १९ गते बिहान घरवाट हिडेका थिए साँझ सम्मपनि घर नफर्केपछि परिवारले उनको खोजी थालेका थिए । घटना वारे ईलाका प्रहरी कार्यालय खोलीमा समेत जानकारी गराइएको थियो । खोजी गर्ने क्रममा गुगल मार्फत उनको मोबाइल लोकेशन समेत हेरिएको थियो । सोही अनुसार खोज्दै जाँदा थलारा गाउँपालिका वडा नम्बर ६ गड्डाला स्थित सेती नदि किनारमा उनको मोबाइल कपडा र चप्पल भेटिएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि भारत जाने गरेका सिंह भारततिर गएको हुन सक्ने आशंका गरेका आफन्तले उनले प्रयोग गरेका सामान भेटाएपछि नदिमा हाम फालेर आत्महत्या गरेको अनुमान लगाउदै खोजी कार्य तिब्र पारेकाछन । शनिबार जिल्ला प्रहरी कार्यालय बझाङ ईलाका प्रहरी कार्यालय थलारा खोलीको प्रहरी टोली सहित स्थानीयले साँझ सम्म सामान भेटिएको स्थान देखि झोता सम्मको सेती नदि किनारमा खोजी गरेका थिए ।
शनिबार सिंहको कुनै पत्तो नलागेपछि आइतबार ठूलो संख्यामा उनका गाउँले,आफन्त र प्रहरीले देउरा सम्म सेतीको दुईटै किनार खोजतलास गरेपनि कुनै पत्ता नलागेको स्थानीय गणेश पार्कीले बताउनु भयो । हामीले झनाना देखि देउरा सम्म दुई दिन लगाएर नदिका दुईवटै किनार हेरि सक्यौं कतैपनि लास भेटिएन उनले भने नदि भित्र कुनै ढुंगाको खोचमा लास अड्किएको हुन सक्छ, त्यो हामी देख्न सक्दैनौं त्यसको लागि गोताखोर टोली आवश्यक छ । त्यसको पहल गरिदिन वेपत्ता सिंहका परिवारले आग्रह गरेकाछन ।
के कारणले सिंहले यस्तो निर्णय लिए कारण भने खुल्न सकेको छैन । उनका दुई छोरा वैदेशिक रोजगारीका क्रममा विदेशमा छन भने घरमा श्रीमती, बुहारी र नातिनातिना छन । घरको मुली बेपत्ता भएपछि घरपरिवार चिन्तित भएकाछन ।
